म्याग्दी । ‘एआई’ कृत्रिम बृद्धिमताको दुरूपयोग हुन नदिने प्रतिबद्धतासहित आज बेनीमा १२ बुँदे म्याग्दी ‘एआई’ घोषणापत्र जारी गरिएको छ । गण्डकी प्रदेशको प्रेस रजिष्ट्रारको कार्यालय र नेपाल पत्रकार महासङ्घ म्याग्दी शाखाको आयोजनामा दुई दिनसम्म बेनीमा सञ्चालन भएको ‘एआई’ र मोबाइल पत्रकारितासम्बन्धी कार्यशालामा सहभागी पत्रकार, सञ्चारकर्मी र सामाजिक सञ्जालका ‘कन्टेन क्रियटर’ (विद्युतीय सञ्चार सामग्री सिर्जनाकर्ता)ले घोषणापत्र जारी गरेका हुन् ।
घोषणापत्रमा समाजमा भ्रम फैलाउने, सद्भाव खलबलाउने, अश्लिलताजस्ता कुनै पनि काममा एआईको दुरूपयोग नगर्ने, एआईको सहयोगमा सिर्जना गरिएका सामग्रीमा स्रोत उल्लेख गर्ने, एआईको प्रयोग गर्दा अन्तिम निर्णयकर्ता मानव जनशक्ति नै हुनुपर्नेमा दृढता र एआईलाई पत्रकारिताको विकल्प नभएर सहयोगीका रूपमा ग्रहण गर्ने उल्लेख छ ।
सूचना, प्रविधिको प्रयोगबाट दैनिक जीवनयापन र क्रियाकलापलाई सहज बनाए पनि मौलिकता र सिर्जनशीलताको संरक्षण गर्दै समाजमा भ्रम र द्वन्द्व फैलिन नदिनेतर्फ संवेदनशील रहनुपर्ने भएकाले एआईको दुरूपयोगबाट आफू पनि बच्न र अरुलाई पनि बचाउन आवश्यक रहेको सन्देशसहित घोषणापत्र जारी गरिएको पत्रकार महासङ्घ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिए ।
राष्ट्रिय एआई नीतिलाई आधार मानेर एआई प्रयोगसम्बन्धी कार्यविधि तथा पत्रकारका लागि एआई आचारसंहिता जारी गर्न सरकारसँग माग गरिएको छ । पत्रकारिताबाहेक शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, व्यवसाय, पर्यटन प्रवद्र्धनलगायत सबै क्षेत्रमा एआईको सही र जिम्मेवार प्रयोगका लागि अनुरोध गर्दै पैरवीकर्ता तथा सहजकर्ताको भूमिका खेल्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।
एआईको प्रयोगलाई व्यवस्थित गर्न स्थानीय सरकार, सरकारी निकाय, सामाजिक तथा निजी सङ्घसंस्थालगायत सबै सरोकारवालाहरूलाई एआई साक्षरता, सचेतना, सीप र शिक्षा फैलाउन ध्यानाकर्षण गराइएको छ ।
करिब ५० जनाको सहभागिता रहेको कार्यक्रममा एआइको व्यवस्थित, सुरक्षित र सदुपयोग तथा दुरूपयोगका विषयमा नेपाल टेलिभिजन पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले सहजीकरण गरेका थिए ।
कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख शुरत केसीले प्रविधिलाई आत्मसात् गर्दै सिर्जनशीलता र मौलिकताको संरक्षण गर्दै भ्रमपूर्ण सूचनाका कारण समाजमा हुने असर न्यूनीकरणमा जोड दिए ।
गण्डकी प्रदेशका प्रेस रजिष्ट्रार विमला भण्डारीले एआइलाई साथी र सहयोगीका रूपमा उपभोग गर्दा सञ्चारकर्मीलाई कार्यसम्पादनमा सहज हुने भएकाले क्षमता तथा सीप विकासमा जोड दिएको बताइन् ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश

प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !