काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएसँगै काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र शाह शक्तिशाली युवा प्रधानमन्त्री बन्नेछन् ।
२०४८ देखि ३४ वर्षसम्म परम्परागत राजनीतिक दलका प्राय एउटै व्यक्ति प्रधानमन्त्री बनिरहेको सन्दर्भमा यस निर्वाचनपछि देशले पहिलो पटक जननिर्वाचित युवा प्रधानमन्त्री पाउन लागेको हो । २०४७ साल वैशाख १४ गते काठमाडौँको नरदेवीमा जन्मिएका बालेनले झपा–५ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई झन्डै ५० हजार मतान्तरले हराएर प्रधानमन्त्री बन्ने योग्यता हासिल गरे ।
मधेसी मूलका पहिलो प्रधानमन्त्रीको कीर्तिमानी पनि उनले राख्दैछन् । महोत्तरीको एकडारा गाउँपालिका बालेनको पुर्ख्यौली घर हो । आर्युवेदिक चिकित्सक रहेका उनका पिता डा. रामनारायण शाह र आमा ध्रुवदेवी शाहका कान्छा छोरा हुन् बालेन । बालेन निवास काठमाडौँको सिनामंगलस्थित गौह्रीगाउँमा पर्छ ।
निर्वाचन आयोगले चुनावी परिणामसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गरी तीन/चार दिनभित्र राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । तीन वर्ष अगाडि खुलेको रास्वपाले वर्षौँ राज्यसत्तामा रहेका कांग्रेस, कम्युनिस्टलाई परास्त गरी दुई तिहाइ अर्थात् १८२ सिट जितेर कीर्तिमान कायम राखेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा विपक्षी दलहरूले जम्मा ९३ सिट पाएका छन् ।
२०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना पछिको १७ वर्षमा नेपालको संविधान, २०७२ को धारा ७६(१) बमोजिम सरकार बन्न सकेको थिएन । २०७४ सालमा दुई ठुला कम्युनिस्ट घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्र गठबन्धनले झण्डै दुई तिहाइ बहुमत पाएको थियो । तर त्यतिबेला पार्टी एकता नभइसकेकाले संविधानको धारा ७६(२) अन्तर्गत सरकार बनेको थियो । निर्वाचनअघि पुस १३ गते रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सम्झौता गरिसकेको छ । आयोगले प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि उनकै नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अगाडि बढ्ने छ ।
भर्खर ३५ वर्ष लागेका बोलन इतिहासकै कम उमेरका जननिर्वाचित प्रधानमन्त्री बन्नेछन् । तर बालेनलाई प्रधानमन्त्री बनाउन रास्वपाको विधान बाधक रहे पनि सहमतिमै संसदीय दलको नेता बनाउने तयारी भएको नेताहरूले बताएका छन् ।
पञ्चायतकालमा तुलसी गिरी राजा महेन्द्रको निगाहमा ३३ वर्षमा प्रधानमन्त्री बनेका थिए । २०१९ सालमा गिरी प्रधानमन्त्रीमा नियुक्त भएका थिए । २०२० सालमा सूर्यबहादुर थापा ३६ वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए । सबैभन्दा पाका उमेरका जननिर्वाचित प्रधानमन्त्री बन्नेमा एमालेका पूर्वअध्यक्ष मनमोहन अधिकारी र कांग्रेसका पूर्वसभापति सुशील कोइराला हुन् । २०५१ सालमा अधिकारी प्रधानमन्त्री हुँदा ७४ वर्षका थिए । ०७० सालमा प्रधानमन्त्री बनेका कोइरालको उमेर पनि ७४ वर्ष थियो ।
२००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना भएपछि हालसम्म २८ जना प्रधानमन्त्री बनिसकेका छन् । प्रजातन्त्र स्थापना भएको ७५ वर्षमा केहीले प्रधानमन्त्रीसरहको प्रथममन्त्री, केहीले मन्त्रिपरिषद् अध्यक्षका रूपमा काम गरेको पाइन्छ । ००७ सालदेखि २०१७ सालसम्म मातृकाप्रसाद कोइराला, टंगप्रसाद आचार्य, डा. केआई सिंह, सुवर्ण शमशेर अन्तरिम प्रधानमन्त्री बनेका थिए । २०१५ सलमा पहिलो आम निर्वाचन भएको थियो । १०९ सदस्यीय प्रनिनिधिसभामा कांग्रेसले दुई तिहाइ अर्थात् ७४ सिट जितेर विश्वेश्वर (बीपी) कोइराला प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । त्यतिबेला कोइरालाको उमेर ४६ वर्षको थियो । २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले संसद् विघटन गरी निरंकुश पञ्चायती व्यवस्था लागु भएपछि ३० वर्षसम्म आम निर्वाचन भएन ।
यद्यपि २०३७ सालमा जनमतसंग्रहको निर्वाचनपश्चात् सुधारिएको पञ्चायती व्यवस्थाको नाममा २०३८ र २०४३ सालमा राष्ट्रिय पञ्चायतको निर्वाचन भएको थियो । त्यस अवधिमा राजाले आफू अनुकूलका व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्थे ।
२०४६ सालको जनआन्दोलनको बलमामा बहुदलीय व्यवस्था पुनर्स्थापना भयो । २०४८ सालमा आम निर्वाचन भयो । २०५ सदस्यीय प्रतिनिधिसभा सदस्य निर्वाचनमा ११० स्थानमा जितेर कांग्रेसले बहुमत ल्यायो । कांग्रेसबाट प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइराला ६७ वर्षका थिए । त्यसअघि २०४७ सालमा अन्तरिम सरकारका प्रधानमन्त्री बनेका कृष्णप्रसाद भट्टराई ६६ वर्षका थिए । २०५२ सालमा माओवादी सशस्त्र विद्रोहसँगै २०५६ सालमा निर्वाचन भयो । त्यतिबेला पनि कांग्रेसले १११ स्थानमा विजय गरी बहुमत ल्याएको थियो । त्यो नै राजतन्त्रकालको अन्तिम निर्वाचन थियो ।
२०६२/६३ सालमा दोस्रो जनआन्दोलनले परम्परागत राजतन्त्र ढालेपछि २०६४ सालमा संविधानसभाको निर्वाचन भयो । तत्काली विद्रोही नेकपा माओवादी सबैभन्दा ठुलो दलमा स्थापित भएपछि २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए । त्यतिबेला प्रचण्डको उमेर ५४ वर्ष थियो ।
२०७२ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बने । त्यतिबेला उनको उमेर ६४ वर्षको थियो । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण कांग्रेस–एमाले गठबन्धन सरकार बनेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम प्रधानमन्त्री भइन् । प्रथम महिला प्रधानन्यायाधीश बनेर इतिहासमा नाम लेखाएकी कार्कीले ७३ वर्षमा प्रथम महिला प्रधानमन्त्री बन्न सफल भइन् ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !