काठमाडौं। टी–२० विश्वकपको फाइनलमा आज साविक विजेता भारत र न्यूजिल्यान्डबीच खेल हुँदैछ।
यो खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा साँझ ७ः१५ बजे सुरु हुनेछ भने टस साँझ पौने सात बजे हुनेछ। दुवै टोली पहिलो पटक टी–२० विश्वकपको फाइनलमा एकअर्काविरुद्ध भिड्न लागेका हुन्।
भारत दुई पटकको च्याम्पियन टोली हो र यो उसको चौथो फाइनल हो। अर्कोतर्फ न्यूजिल्यान्ड दोस्रो पटक फाइनलमा पुगेको हो। टोली अझै आफ्नो पहिलो टी–२० विश्वकप उपाधिको प्रतीक्षामा छ। यसअघि २०२१ को फाइनलमा न्यूजिल्यान्ड अष्ट्रेलियासँग पराजित भएको थियो।
विश्वकपमा भारतले न्यूजिल्यान्डलाई हराउन सकेको छैन
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतको प्रदर्शन न्यूजिल्यान्डविरुद्ध राम्रो रहे पनि टी–२० विश्वकपमा भने स्थिति फरक छ। विश्वकपको इतिहासमा दुवै टोलीबीच अहिलेसम्म तीन खेल भएका छन् र ती तीनै खेलमा न्यूजिल्यान्ड विजयी भएको छ। यी खेलहरू २००७, २०१६ र २०२१ मा भएका थिए। सन् २०१६ मा त न्यूजिल्यान्डले भारतमै भारतलाई हराएको थियो।
टी–२० अन्तर्राष्ट्रियमा भारत र न्यूजिल्यान्डबीच अहिलेसम्म ३० खेल भएका छन्। तीमध्ये १८ खेल भारतले जितेको छ भने ११ खेल न्यूजिल्यान्डले जितेको छ। एउटा खेल टाइ भएको थियो। भारतले दुई खेल सुपर ओभरमा जितेको छ भने एउटा खेल वर्षाका कारण टाइ भएको थियो।
घरेलु मैदानमा भारतले न्यूजिल्यान्डविरुद्ध १६ खेलमध्ये ११ खेल जितेको छ।
उत्कृष्ट लयमा किशन
जारी विश्वकपमा ईशान किशन भारतका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी बनेका छन्। उनले ८ खेलमा २६३ रन बनाएका छन्, जसमा उनको उच्च स्कोर ७७ रन रहेको छ। यस क्रममा उनले दुई अर्धशतक पनि प्रहार गरेका छन्।
बलिङतर्फ वरुण चक्रवर्तीले उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले ८ खेलमा १३ विकेट लिएका छन्। आजको खेलमा उनले १ विकेट लिन सकेमा प्रतियोगिताको शीर्ष विकेट लिने खेलाडी बन्न सक्छन्।
फिन एलन उत्कृष्ट ब्याटर
यस विश्वकपमा न्यूजिल्यान्डका फिन एलन टोलीका सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। उनले ८ खेलमा २८९ रन बनाएका छन्। उनको उत्कृष्ट प्रदर्शन नटआउट १०० रन हो, जुन उनले सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध बनाएका थिए।
न्यूजिल्यान्डका रचिन रविन्द्रले यस प्रतियोगितामा ८ खेलमा ११ विकेट लिएका छन् र टोलीका शीर्ष बलर बनेका छन्।
ब्याटिङमैत्री पिच
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा फाइनलका लागि नयाँ पिच प्रयोग गरिनेछ। कालो र रातो माटो मिसाएर बनाइएको पिचमा स्पिन कम हुनेछ तर पेस र बाउन्स भने राम्रो रहनेछ। यस्तो अवस्थामा ब्याटरलाई फाइदा हुने अपेक्षा गरिएको छ।
यस मैदानमा १४ टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये ८ खेलमा पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ भने ५ खेलमा लक्ष्य पछ्याउने टोली विजयी भएको छ।
यस मैदानको सबैभन्दा ठूलो स्कोर २३४ रन हो, जुन भारतले २०२३ मा न्यूजिल्यान्डविरुद्ध बनाएको थियो। त्यस खेलमा शुभमन गिलले शतक बनाएका थिए र न्यूजिल्यान्ड ६६ रनमै समेटिएको थियो।
यस विश्वकपमा अहमदाबादमा ६ खेल भएका छन्। तीमध्ये ३ खेल पहिले ब्याटिङ गर्ने टोलीले जितेको छ भने २ खेल लक्ष्य पछ्याउने टोलीले जितेको छ। दक्षिण अफ्रिका र अफगानिस्तानबीचको एउटा खेल टाइ भएको थियो, जसलाई दक्षिण अफ्रिकाले डबल सुपर ओभरमा जितेको थियो।
भारतले अहमदाबादमा १० टी–२० अन्तर्राष्ट्रिय खेल खेलेको छ, जसमा ७ जित र ३ हार बेहोरेको छ। न्यूजिल्यान्डले यहाँ दुई खेल खेलेको छ र दुवैमा हार बेहोरेको छ।
फाइनलका लागि आईसीसीले रिजर्भ डे पनि राखेको छ। यदि ८ मार्चमा खेल पूरा हुन सकेन भने ९ मार्च (सोमबार)रिजर्भ डेमा खेलाइनेछ।
यदि त्यस दिन पनि खेल हुन सकेन भने नियमअनुसार दुवै टोलीले ट्रफी सेयर गर्नेछन्।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !