काठमाडौं । काठमाडौं ९ बाट अत्यधिक मतले जितेका रास्वपा उपसभापति डीपी अर्यालले दिएको एउटा अभिव्यक्तिको भिडिओ क्लीप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
उनले पार्टी उपसभापति बालेन्द्र साहलाई प्रधानमन्त्री बनाउने सम्झौतारे अनभिज्ञता दर्शाएको भनेर कतिपयले आलोचना गरेका छन् ।चुनाव जितिसकेपश्चात सञ्चारकर्मीसँग डीपीले हिजो थोरै सवालजवाफ गरेका थिए । एक सञ्चारकर्मीले उनलाई बालेन्द्र साहसँग भएको सम्झौताको विषय कोट्याउँदै त्यसमा रास्वपा इमान्दार रहन्छ कि रहँदैन भन्ने खालको प्रश्न गरे । त्यसमा डीपीले दिएको जवाफ भाइरल भएको हो ।
पत्रकार र डीपीबीच भएको सवालजवाफको अंश यस्तो छः
पत्रकारः दुई तिहाइको सरकार भइसकेपछि पार्टीभित्र अब खटपट सुरू हुने र फुट्ने आशंका पनि धेरैले गरेका छन्, तपाईं के भन्नुहुन्छ ?
डीपीः तपाईंले जनतालाई अलिकति भए पनि भ्रम छरिदिउँ भनेर गरेको प्रश्न जस्तो लाग्छ यो । यस्तो प्रश्न नै बन्द गरिदिनुस । तपाईँहरू हामीलाई मोटिभेसन दिनुस न । जनतालाई यस्तो समाचार पठाइदिनुस कि…
पत्रकार- यो प्रश्न सोध्ने स्थिति बन्छ कि बन्दैन, त्यो भन्नुस्…
तपाईँले अहिले नै सोधेर गलत गर्नुभयो । यो प्रश्नै नसोध्नुपर्ने हो । रास्वपालाई माया गर्नेहरू पार्टीका कार्यकर्ता र सदस्य मात्र हुन् भनेर नबुझिदिनुहोला । रास्वपालाई माया गर्ने तमाम तपाईँहरूजस्तै दाजुभाइ दिदीबहिनी हो । उहाँहरूमाथि अन्याय हुनु हुन्दैन । हामीबाट त्यस्तो कदापी हुन सक्दैन । हामी इमान नगुमाइकन काम गर्छौँ ।
पत्रकारः बालेन्द्र साह भावी प्रधानमन्त्रीका उम्मेदवार हुनुहुन्छ अहिलेसम्म पनि । सम्झौतामा भनिएको छ, बालेन्द्र साह ५ वर्षका लागि प्रधानमन्त्री हुनेछन् । पार्टी सभापति रवि लामिछानेले सम्हालेछन् भनिएको छ । यो सम्झौतामा कहीँ पनि तलमाथि हुँदैन ?
डीपीः त्यो सम्झौतामा के लेखिएको छ मैले नै एकचोटि हेर्नुपर्छ । मलाई सबै कण्ठ छैन । तपाईँले भनेको कुरा यदि लेखिएको रहेछ भने त्यसमा जे लेखिएको छ त्यही हुन्छ ।
पत्रकारः भनेपछि त्यो सम्झौतभन्दा एक इन्च पनि तलमाथि हुँदैन ?
डीपीः त्यो मैले तपाईँसित वाचा गर्नुपर्ने त आवश्यकता देख्दिनँ । पार्टी निर्माण हुँदैछ । पार्टीबाट निर्वाचित भएर नेताहरू आउनु हुन्छ । वरिष्ठ नेता, सभापतिज्यूहरू पार्टीको केन्द्रीय समिति छ, त्यसमा छलफल होला । संसदीय दल बन्छ । त्यहाँबाट हुँदै जाने निर्णयलाई तपाईं हामीले मान्नुपर्छ ।
पत्रकारसँगको सवालजवाफमा डीपी अर्यालको मुख्य आशय सम्झौतामा जे लेखिएको छ त्यही हुन्छ भन्ने थियो । पत्रकारले सरकारसमेत बन्न नपाइ पार्टीभित्र खटपट र सम्भावित विभाजनको कुरा गर्न थालेपछि अर्याल अलिकति आवेगमा पनि आएका थिए ।
उनले सम्झौतामा के लेखिएको छ, मलाई कण्ठ छैन, एकचोटि हेर्नुपर्छ भनेका छन् । खासमा पत्रकारले दाबी गरेजस्तो सम्झौता बालेनसँग भएको छैन । रास्वपा र बालेनबीच गत पुस १३ गते ७ बुँदे सम्झौता भएको थियो । सम्झौताको चौथो बुँदामा भनिएको छ, राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र साह हुने । पत्रकारले भनेजस्तो ५ वर्षका लागि बालेन प्रधानमन्त्री बन्ने सम्झौतामा उल्लेख छैन । त्यही भएर अर्यालले सिधा जवाफ दिन नसकेका हुन् ।
सम्झौतामा नलेखिएको भए पनि बालेनको कार्यकाल आधारभूतरूपमा ५ वर्ष नै हो । यसमा रास्वपा नेतृत्व प्रष्ट छ । यद्यपि, सरकारको कार्यसम्पादनले पनि यसको आयू निर्धारण गर्ने पार्टीका नेताहरू बताउँछन् ।
एक पदाधिकारीले भने, ‘हाम्रो बुझाइ ५ वर्षकै लागि भन्ने हो । तर, सम्झौतामा लेखिएको छैन । यदि सरकारले सोचेजस्तो डेलिभरी दिन सकेन र बीचमै अलोकप्रिय भएर गयो भने सोच्नुपर्ने अवस्था पनि आउन सक्छ । कार्यसम्पादन राम्रो भयो र जनता सन्तुष्ट भए भने बालेनले नै पाँच वर्ष चलाउनु हुन्छ ।’
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !