काठमाडौँ । सेयर बजारको सम्पत्तिमा एकैदिन २ खर्ब ७३ अर्ब ७८ करोड रुपैयाँले बढेको छ । करिब एक सातापछि पहिलो पटक खुलेको बजार एकैदिन १६२.९३ अंकले बढ्दा बजार पुँजीकरणमा सो बराबरको वृद्धि देखिएको हो । आजको कारोबारसँगै बजार २८७५.४३ अंकमा पुगेको छ यो विगत ७ महिनायताकै सबैभन्दा धेरै हो ।
नेपालमा निर्वाचन सम्पन्न भएर नयाँ संसदको स्वरूप निर्धारण भएसँगै खुलेको बजारले यसको प्रतिक्रिया देखाएको हो । संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीले करिब दुई तिहाई बहुमत प्राप्त गर्दै एकलौटी रूपमा सरकार बनाउनसक्ने अवस्था देखाएको छ ।
यो अङ्कगणितसँगै आगामी सरकारमा रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्व मेयर बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बन्ने देखिएको छ भने अर्थमन्त्रीमा सोही पार्टीका उपाध्यक्ष समेत रहेका अर्थशास्त्री स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने देखिएको छ ।
विगतमा कुनै सरकार परिवर्तन हुने वा नयाँ अर्थमन्त्री आउने विषयले सेयर बजारलाई प्रभावित गर्ने गरेको थियो । सरकार कायमै रहँदा पनि अर्थमन्त्री परिवर्तनको हल्ला चलाएर बजारलाई उतारचढाव गराउने प्रवृत्ति पनि थियो । निर्वाचनको परिणामसँगै प्रधानमन्त्री र अर्थमन्त्री एकैपटक को बन्ने भन्ने लगभग निश्चित भएको छ ।
यो अवस्थामा बढेको बजारको मुख्य कारण के हो र अब पुँजी बजार कस्तो हुनुपर्छ भन्ने सम्बन्धमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ-
लामो समयदेखि साइडवेजमा रहेको बजार आज एक्कासि सकारात्मक सर्किट लाग्यो, यसको कारण के हो?
आज सेयर बजार सर्किट लेभलमा बढ्नुको मुख्य कारण निर्वाचन सम्पन्न भएर नयाँ सरकार बन्ने अवस्था भएकोले हो । जेनजी आन्दोलनपछि निर्वाचनको अघिल्लो दिनसम्म पनि निर्वाचन हुन्छ कि हुँदैन भन्ने एक प्रकारको अन्योल थियो । २१ गतेको निर्वाचनका लागि बिदा सुरु हुनुभन्दा अघि पनि यो अवस्था थियो ।
चुनावपछि पहिलो पटक बजार खुल्दा राजनीतिक अस्थिरताको त्यो सम्भावना अन्त्य भएको छ ।
अर्कोतिर यो निर्वाचनले एउटै सरकारको प्रस्ट बहुमतसहित पाँच वर्षको स्थिर सरकार दिने ग्यारेन्टी गरेको छ । २०६४ पछि कुनै पनि सरकारले यस्तो प्रस्ट बहुमत ल्याउन सकेको थिएन, जुन यस पटक आएको छ ।
योसँगै आउने सरकारले चाहे अनुसारका जुनसुकै कानुन संशोधन गर्ने क्षमता समेत राख्छ । स्थिर सरकार र कानुनी सुधार गर्ने सन्दर्भमा देखिएको सहज अवस्थालाई हेरेर बजार बढेको हो ।
विगतमा को प्रधानमन्त्री बन्छ वा को अर्थमन्त्री बन्छ भन्ने हिसाबले पनि बजार घटबढ हुने गर्थ्यो । विष्णु पौडेल अर्थमन्त्री बन्न लाग्दा सकारात्मक सर्किट लाग्यो, युवराज खतिवडा आउँदा नकारात्मक सर्किट लाग्यो । अहिले यो हिसाबले पनि घटबढ भएको हो कि ?
यहाँ यसको प्रभाव पनि छ । नयाँ सरकारको प्रधानमन्त्रीमा बालेन्द्र शाह आउने र अर्थमन्त्रीमा स्वर्णिम वाग्ले आउने भन्ने चर्चा चलेको छ । उहाँहरू दुवै जना कुनै न कुनै ठाउँमा सफल प्रमाणित भइसकेका व्यक्ति हो ।
बालेन शाह जस्तो योङ नेतृत्व जसले काठमाडौँ महानगरपालिकामा काम गरेर देखाइसक्नुभएको छ । उहाँको नाम र कामप्रतिको विश्वासले ठूलो प्रभाव पारेको छ ।
सँगसँगै, अर्थतन्त्रको साँचो डा. स्वर्णिम वाग्लेको हातमा जाँदै छ भन्ने कुराले बजारमा सुनमा सुगन्ध थपेको हो । उहाँ विश्व बैंकदेखि अन्तर्राष्ट्रिय जगतमा काम गरिसकेको, विश्व अर्थतन्त्रलाई नजिकबाट नियालेको व्यक्ति हुनुहुन्छ । त्यसैले स्थिरता र विज्ञता दुवै एकैठाउँमा मिसिएर बजारमा यो स्तरको उत्साह आएको हो ।
विगतको हेर्दा बालेनको कार्यशैली कलिकति बढी समाजवाद उन्मुख देखिन्छ । काठमाडौँमा शिक्षा, स्वास्थ्य क्षेत्रमा काम गरेर समाजवाद अभ्यास गरेको आफैँले भनेका छन् । डा. वाग्ले पुँजीवादी धारका अर्थशास्त्री मानिनुहुन्छ । दुई जनाको तालमेलबाट बन्ने नीतिले सेयर बजारलाई कसरी फेभर गर्ला ?
एक्काइसौँ शताब्दीमा आएर हामी परम्परागत समाजवाद र पुँजीवादको बहसमा मात्र अल्झिएर सम्भव छैन । नेपालमा राजनीतिक क्रान्ति भइसक्यो, अबको क्रान्ति भनेको आर्थिक क्रान्ति नै हो । यो सन्दर्भमा दुवैजनाको विचार एकै ठाउँमा छ ।
अहिलेको जुन जेनजी युवाहरूको माग छ, त्यसलाई समेट्न अर्थतन्त्रलाई सबल नबनाई सुखै छैन । आर्थिक उन्नतिविना कुनै पनि वाद टिक्दैन । बालेनको सामाजिक न्याय र स्वर्णिमको पुँजी निर्माणको नीति मिल्दा समग्र अर्थतन्त्र चलायमान हुन्छ । नयाँ पूर्वाधारका योजनाहरू बन्छन् ।
अर्थतन्त्र चलायमान हुने बित्तिकै पुँजी बजार त स्वतः चल्ने नै भइगयो । लगानीकर्ताले यही बुझेर बजारमा प्रतिक्रिया जनाएका हुन् ।
भनेपछि अब बन्ने सरकारसँग पुँजी बजारका लगानीकर्ताको मुख्य अपेक्षा के हो ?
लामो समयदेखि पुँजी बजार अलमलिएर बसेको थियो । लगानीकर्ताहरू अन्योलमा थिए । अब बहुमत ल्याएर सरकार बनाउँदै गरेका साथीहरू आत्तिनु हुँदैन । उहाँहरूले संयमताका साथ आगामी ५ वर्षसम्मका लागि स्थिर नीति, नियम र कानुनहरू बनाइदिनुपर्छ ।
विगतमा रामेश्वर खनाल आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने, नयाँ स्टक एक्सचेन्जको संरचना तयार पार्ने, इन्ट्रा-डे कारोबार सुरु गर्ने जस्ता २१औँ शताब्दी सुहाउँदो प्रविधिमैत्री पुँजी बजार बनाउन उहाँहरूले अहम् भूमिका खेल्नुपर्छ भन्ने हाम्रो पूर्ण आशा छ । पुँजी बजारले यही आशाका साथ आज फड्को मारेको हो ।
समाचार
प्रदेश
खेलकुद
राजनीति
प्रविधि
मनोरञ्जन
बिजनेस
बिचार
जिवनशैली
कोशी प्रदेश
मधेस प्रदेश
बागमती प्रदेश
गण्डकी प्रदेश
लुम्बिनी प्रदेश
कर्णाली प्रदेश


प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !
प्रतिक्रिया 0
कुनै पनि प्रतिक्रिया पाईएन !